पुष १७, पोखरा । राष्ट्रिय परोपकार नारी इकाइ समिति पोखरा ७ को आयोजना तथा पोखरा महानगरपालिका वडा नं। ७ को आर्थिक सहयोगमा १ दिने बाटेको धुप बनाउने तालिम मासबार स्थित पुस्करेश्वर मन्दिरमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले घरमा दैनिक पुजापाठमा आवश्यक पर्ने वाटेको धुप तालिमले घरायसी खर्चमा कमि ल्याउनुका साथै महिलामा आत्मानिर्भरताको विकास हुने बताउनुभयो । उहाँले बजारमा पाइने सिन्के अगरबत्ती भन्दा वाटेको धुप वातावरण मैत्री र स्थानिय स्रोतमा आधारित हुने बताउनु भयो ।
राष्ट्रिय परोपकार महासंघ पोखरा नगर इकाइ अध्यक्ष गिता लामिछानेले महासंघको परिसरमा फुलेका पूmल र वनस्पतिको उचित प्रयोग सहित व्यवास्थापन गर्न सर्वप्रथम महासंघमै यसकार्यलाई अगाडि बढाएको बताउनुभयो । वडा स्तरमा रहेका दिदी बहिनीहरुलाई पनि सिप दिएर सशक्तिकरण सहितको पुण्य काममा सरिक गराउन वडा इकाइ सम्म यो कार्यक्रम ल्याएको बताउनु भयो ।
पोखरा ७ का वडा सचिव राजेन्द्र पौडेलले तालिमको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो । राष्ट्रिय परोपकार नारी इकाइ समिति पोखरा ७ का अध्यक्ष मिना आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष मनमाया बराल र संचालन सचिव कमला बरालले गर्नु भएको थियो । कार्यक्रममा ९५ जना आमा दिदी बहिनीको सहभागिता थियो ।
