परराष्ट्रमन्त्री डा. आरजु राणाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताउनुभएको छ ।
चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उहाँले बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको र अहिले त्यसको कार्यान्वयनको योजनाबारे छलफल चलिरहेको भन्दै यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुने बताउनुभयो । अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली कांग्रेसले औपचारिक निणर्य गरिसकेको स्मरण गराउँदै उहाँले सत्ता साझेदार एमालेसँग कांग्रेसले यो परियोजना ऋणमा नभइ अनुदानमा नै लिने विषयमा छलफल गरिरहेको बताउनुभयो । आफ्ना चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेटवार्ता द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको परराष्ट्र मन्त्री डा. राणाले जानकारी दिनुभयो । दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको र चिनियाँ विदेशमन्त्रीसँग आफूले चीनसँगको व्यापार, पर्यटन, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक- सामाजिक साझेदारी वृद्धिमा जोड दिएको जानकारी पनि उहाँले जानकारी दिनुभयो ।-CIN

