माछापुच्छ्रे–५ रिभानमा नवनिर्मित ज्येष्ठ नागरिक भवनको भव्य उद्घाटन

Headlines समाचार होमपेज

रिभान (कास्की) । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५, रिभानमा नवनिर्मित ज्येष्ठ नागरिक भवनको उत्साहजनक सहभागिताका बीच औपचारिक उद्घाटन गरिएको छ। ज्येष्ठ नागरिक समिति रिभानको आयोजनामा सम्पन्न विशेष समारोहमा भवनको उद्घाटनसँगै निर्माणको आय-व्यय समेटिएको आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरिएको हो।

गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको विशेष उपस्थितिमा भवनको उद्घाटन सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय युवा क्लब, आमा समूह एवं विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको उल्लासमय उपस्थिति रहेको थियो।

वि.सं. २०६८ मा संस्थापक अध्यक्ष तोरण बहादुर गुरुङको अगुवाइमा स्थापित यस संस्थाले स्थानीय ज्येष्ठ नागरिकहरूको हकहित, संरक्षण र सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

९ सदस्यीय समितिद्वारा भवन निर्माण सम्पन्न :

भवन निर्माण कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मुह्न लाल लामिछानेको अध्यक्षतामा ९ सदस्यीय ‘भवन निर्माण समिति’ गठन गरिएको थियो। समितिको सचिवमा भास्कर गिरी, कोषाध्यक्षमा ठुला दुर्गा ढुङ्गाना तथा सदस्यहरूमा विध्य नेपाली, सीता कुमारी गुरुङ, गरुड ध्वज लामिछाने, लील बहादुर जी।सी।, खिम लाल पौडेल र इन्द्र कुमारी गुरुङ हुनुहुन्थ्यो।

भवन निर्माणका लागि स्थानीय समाजसेवी ठुला दुर्गा ढुङ्गाना र केशव गिरीले नि शुल्क जग्गा उपलब्ध गराउनुभएको थियो।

कुल लागत रु. २६ लाख; गाउँपालिका र एक्यापको प्रमुख सहयोग

सार्वजनिक गरिएको प्रतिवेदन अनुसार भवन निर्माणमा कुल रु. २६,००,१००/- (छब्बीस लाख एक सय रुपैयाँ) खर्च भएको छ। भवन निर्माणका लागि प्रमुख वित्तीय सहयोग निम्न निकायहरू

भवन निर्माणसँगै ज्येष्ठ नागरिकहरूको मनोरन्जनका लागि माछापुच्छ्रे गाउँपालिकाबाट एक थान ४६ इन्चको स्मार्ट टेलिभिजन र कुर्सीहरू तथा अन्नपूर्ण संरक्षण क्षेत्र (ACAP) बाट २ थान टेबल, कुर्सी र दराज जिन्सी सहयोग गरेको खवर छ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र, वडा कार्यालय र जनसमुदायको संयुक्त प्रयासबाट ज्येष्ठ नागरिकहरूका लागि व्यवस्थित भवन निर्माण हुनु अत्यन्तै प्रशंसनीय कार्य भएको बताउनुभयो।

प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाउने पालिकाको परिकल्पना’

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले गाउँपालिकाले प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन निर्माण गर्ने परिकल्पनासहित काम अगाडि बढाइरहेको बताउनुभयो। बाँकी रहेका वडाहरूमा पनि यस कार्यले निरन्तरता पाउने उल्लेख गर्दै उहाँले २०८४ को निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिहरूले समेत जो आए पनि यस कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

विशेष अतिथि एवं प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिकाभित्रका हरेक विकास निर्माण, सामाजिक संघ(संस्था तथा समुन्नत माछापुच्छ्रे निर्माणमा ज्येष्ठ नागरिकहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै ज्येष्ठ नागरिकप्रति पालिकाको तर्फबाट उच्च सम्मान व्यक्त गर्नुभयो।

वडा नं। ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेलले भवन निर्माण सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरूप्रति वडा कार्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्दै हार्दिक आभार व्यक्त गर्नुभयो।

समारोहमा संस्थाका तर्फबाट जग्गादाता, निर्माण समिति, जनप्रतिनिधिहरू, वित्तीय सहयोग पुर्‍याउने सङ्घ-संस्था तथा सम्पूर्ण चन्दादाताहरूलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, उपस्थित सम्पूर्ण सहभागीहरूमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरिएको थियो।