कास्की क्षेत्र नं ३(क) को उपसभापतिमा मिन राज तिमिल्सिनाको उम्मेदवारी

Headlines राजनीति

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की प्रतिनिधिसभा क्षेत्र नं. ३ (क) को क्षेत्रीय कार्यसमितिको उपसभापति पदमा मिनराज तिमिल्सिनाले उम्मेदवारी प्रस्तुत गरेका छन्।

राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय तिमिल्सिनाले विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दाकै क्रममा २०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएसँगै राजनीतिक गतिविधिमा सक्रियता बढाएका थिए।

२०५२ सालमा हेमजाको मिलनचोकमा तिमिल्सिना फेन्सी सञ्चालन गर्दै उनले व्यवसायिक यात्रा सुरु गरेका थिए। व्यवसायसँगै व्यवसायीका हकहितका विषयमा समेत सक्रिय रहँदै आएका तिमिल्सिना हेमजा उद्योग व्यवसाय समितिका संस्थापक अध्यक्ष हुन्। कपडा व्यवसायी समितिको सदस्यका रूपमा समेत काम गरेको अनुभव उनीसँग छ।

स्थानीय तहको अघिल्लो निर्वाचनमा संगठनको आर्थिक संयोजकको भूमिकामा रहेर काम गरेको अनुभवसमेत उनले संगालेका छन्। पोखरा–२५ हेमजामा रहेको रेडियो हेमजाको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालेका तिमिल्सिना विभिन्न सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

लामो राजनीतिक तथा सामाजिक अनुभवसँगै व्यवसायिक क्षेत्रको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्ने उद्देश्यसहित उपसभापति पदमा उम्मेदवारी दिएको तिमिल्सिनाको भनाइ छ। व्यवसायीका हकहित, स्थानीय सामाजिक गतिविधि तथा संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

विद्यार्थी जीवनदेखि सुरु भएको राजनीतिक यात्रा, तीन दशकभन्दा लामो व्यवसायिक अनुभव तथा सामाजिक र संगठनात्मक क्षेत्रमा निरन्तरको सक्रियतालाई आधार बनाउँदै तिमिल्सिनाले क्षेत्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।