पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

समाचार

पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौँ सेमेस्टरका विद्यार्थीहरूले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्।

कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा दुई वटा सेक्सनका ७९ जना विद्यार्थीलाई ६ समूहमा विभाजन गरी अभ्यास गराइएको थियो।

विद्यार्थीहरूले विभिन्न समसामयिक विषयहरूमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका विषयहरूमा फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको,पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको,पोखरा उद्योग वाणिज्य संघले रोजगारी मेला आयोजना गरेको, पसल डट कम (Pasal.com)को सेवा विस्तार,साइमेक्स इन्क। द्वारा विद्युतीय गाडी आयात सम्बन्धी विवाद,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसम्बन्धी विषयहरू समावेश थिए।

बीबीए अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले ‘मिडिया र जनसम्पर्क’ विषय अन्तर्गत मिडियासँग समन्वय गर्ने, पत्रकार सम्मेलन सञ्चालन गर्ने तथा प्रेस विज्ञप्ति तयार गर्ने सीप सिक्ने उद्देश्यले यो अभ्यास गरिएको कलेजका प्राचार्य लीना नेगी श्रेष्ठ ले जानकारी दिनुभयो।

कार्यक्रमबाट विद्यार्थीहरूले सञ्चार क्षेत्रसँग सम्बन्धित व्यवहारिक अनुभव प्राप्त गरेको र भविष्यमा व्यावसायिक रूपमा उपयोगी हुने सीप विकास भएको विषय शिक्षक सुवास मल्ल ले बताउनुभयो।

कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्री ले विद्यार्थीहरूको प्रस्तुतीकरणमाथि टिप्पणी तथा मूल्याङ्कन गर्नुभएको थियो।

विद्यार्थी बिनिशा थापाले वास्तविक पत्रकार सम्मेलनको अभ्यास गर्न पाउँदा आत्मविश्वास बढेको र व्यवहारिक सिकाइ भएको अनुभव सुनाउनुभयो।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी व्यवस्थापन संकायअन्तर्गत अध्यापन गराउँदै आएको छ। हाल कलेजमा करिब ७०० भन्दा बढी विद्यार्थी बीबीए, बीबीए फाइनान्स तथा बीसीआईएस कार्यक्रममा अध्ययनरत छन्।