माछापुच्छ्रे गाउँपालिकाको वित्तीय प्रगति ८१.५३ प्रतिशत, ५६ करोडभन्दा बढी बजेट खर्च

अर्थ समाचार

कास्की, असार २७ । माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरण अनुसार चालु तथा पुँजीगत दुवै शीर्षकमा गरी गाउँपालिकाले हालसम्म कुल ८१।५३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।

गाउँपालिकाका अनुसार चालुतर्फ विनियोजित ४८ करोड १७ लाख ३२ हजार रुपैयाँमध्ये ३९ करोड ४७ लाख ९७ हजार ५२२ रुपैयाँ खर्च भएको छ, जुन ८१.९७ प्रतिशत हो। त्यसैगरी पुँजीगततर्फ विनियोजित २१ करोड १६ लाख ६० हजार रुपैयाँमध्ये १७ करोड ४ लाख ३६ हजार ७०९ रुपैयाँ खर्च भई ८०।५२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

यसरी चालु र पुँजीगत दुवै शीर्षकमा भएको खर्चसहित गाउँपालिकाले कुल ६९ करोड ३३ लाख ९२ हजार रुपैयाँमध्ये ५६ करोड ५३ लाख ५४ हजार २३१ रुपैयाँ खर्च गर्दै ८१।५३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।

गाउँपालिकाले यो उपलब्धिमा जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी तथा सम्पूर्ण माछापुच्छ्रेवासीप्रति धन्यवाद व्यक्त गर्दै बाँकी योजनासमेत समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।