धितालमा छाता वितरणसँगै जीवन्त बन्यो असारे धान रोपाइँ (हिले महोत्सव)–२०८३

Headlines खेलकुद पर्यटन समाचार होमपेज

पोखरा, असार १६ – कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, धितालले ‘ज्येष्ठ नागरिकसँग असारे धान रोपाइँ (हिले महोत्सव)–२०८३’ मंगलबार सम्पन्न गरेको छ। ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै परम्परागत कृषि संस्कृतिसँग पुनः जोड्ने उद्देश्यले आयोजित कार्यक्रमले सहभागितामूलक र उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो।

वडा अध्यक्ष टेकनाथ गौतमले ‘ज्येष्ठ नागरिकसँग चाडबाड’ कार्यक्रम आफूहरू निर्वाचित भएपछि सार्वजनिक गरेका प्रतिबद्धतामध्ये एक भएको बताउनुभयो। उहाँका अनुसार वडा नं। ६ का ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै गत वर्ष पनि सम्मान स्वरूप छाता वितरण गरिएको थियो। यस वर्ष भने छाता वितरणलाई असारे धान रोपाइँ (हिले महोत्सव)सँग जोडेर ज्येष्ठ नागरिकलाई आफ्ना विगतका कृषि जीवनका अविस्मरणीय क्षणहरू पुनः अनुभूति गराउने प्रयास गरिएको उहाँले बताउनुभयो।

“ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्छ, उहाँहरूको आशीर्वाद लिनुपर्छ। यो हाम्रो धार्मिक मान्यता मात्र होइन, सामाजिक संस्कार पनि हो। त्यसैले यस वर्ष उहाँहरूलाई सम्मान स्वरूप छाता वितरण गर्नुका साथै हिलोमा रमाउने अवसर पनि प्रदान गरेका हौँ,” गौतमले भन्नुभयो।

उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिसँग जोड्नुका साथै ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानप्रति सम्मान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छाता ग्रहण गरे लगत्तै ज्येष्ठ नागरिकहरू उत्साहपूर्वक हिलोमा ओर्लिए। परम्परागत शैलीमा धान रोप्दै उनीहरूले विगतका असारे दिनका सम्झनाहरू ताजा पारे। सामूहिक रूपमा घन्किएका मौलिक असारे गीतले खेतको वातावरणलाई थप उल्लासमय बनायो भने उमेरले सात दशक पार गरिसके पनि उहाँहरूको जोस, जाँगर र सक्रिय सहभागिताले सबैको ध्यान खिचेको थियो। ज्येष्ठ नागरिकहरूको उत्साहले हिले महोत्सवलाई साँच्चिकै जीवन्त बनाएको सहभागीहरूले बताएका थिए।

यति मात्र होइन, वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि म्युजिकल चेयर प्रतियोगिता समेत आयोजना गरेको थियो। प्रतियोगितामा जीवनाथ गौतम प्रथम, कुलबहादुर दमाई द्वितीय र छविलाल ढुङ्गाना तृतीय हुन सफल भए। विजेताहरूले क्रमशः रु। ३,०००, रु। २,००० र रु। १,००० नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

हिलोमा धान रोपाइँ, असारे गीत, म्युजिकल चेयर प्रतियोगिता तथा ज्येष्ठ नागरिकहरूको उत्साहपूर्ण सहभागिताले धितालमा आयोजित ‘ज्येष्ठ नागरिकसँग असारे धान रोपाइँ ९हिले महोत्सव०–२०८३’ लाई अन्य वर्षभन्दा फरक, मौलिक र स्मरणीय कार्यक्रमका रूपमा स्थापित गरेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा वडा नं। ६ ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष देवीप्रसाद अधिकारी, जिल्ला समन्वय समिति सदस्य तथा वडा सदस्य लक्ष्मी परिवार, वडा अध्यक्ष टेकनाथ गौतम, वडा सदस्य जमुना ओझा, वडा सदस्य गुरुदत्त अधिकारी, नेकपा ९एमाले० वडा नं। ६ का अध्यक्ष नन्दलाल गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी माछापुच्छ्रे गाउँपालिकाका उपसभापति टिकाराम अधिकारी लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, ज्येष्ठ नागरिक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा नं। ६ ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जालका सचिव दुर्गाप्रसाद पौडेल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने वडा नं। ६ का सचिव विष्णु रखाल ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।