टाइगर कपः पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

Headlines Top Post अर्थ खेलकुद पर्यटन समाचार होमपेज

पोखरा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकाल्यो ।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा पाँचौं सेटमा पुगेर जित निकालेको हो । आज पराजित भएको पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।