मन्दाकिनी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको २.९ मेगावाटको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका–२ मा निर्माण हुन लागेको उक्त आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने भएको हो ।
आइतबार (साउन ११ गते) एक समारोहका बीच आयोजनाको प्रवर्द्धक कम्पनी र ऋण लगानी गर्ने बैंक बीच ऋण लगानीसम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा एनएमबी बैंकका दिगो बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका अध्यक्ष सरदकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
कुल ६५ करोड लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत (४५ करोड ५० लाख रुपैयाँ) बैंकले र बाँकी प्रवर्द्धकको स्वपुँजी लगानी रहने छ । स्वपुँजी जुटाउन कम्पनीले हकप्रद (राइट) सेयर जारी गर्ने जनाएको छ ।
कार्यक्रममा कम्पनीका निर्देशक हरिप्रसाद भट्टले ४ मेगावाटको सार्दी जलविद्युत् आयोजना सम्पन्न गरी २०७४ मंसिर २३ गतेदेखि निरन्तर विद्युत् उत्पादन गरिरहेको बताए । उक्त विद्युत् केन्द्रको माथिल्लाे तटमा आयोजना निर्माण गर्न लागेको बताए । साथै, उनले कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माण हुन लागेको स्पार्क हाइड्रोको १४५ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनामा पनि सेयर लगानी गरेको बताए ।
कार्यक्रममा एनएनबी बैंकका कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपालकाे ऊर्जा विकासमा बैंकले साथ दिएको बताएका छन् । आगामी दिनमा ऊर्जा क्षेत्रमा बैंककाे लगानी र सहयाेग बढ्दै जाने उनले बताए ।
त्यस्तै, माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र वडा अध्यक्ष गणेश आचार्यले आयोजना निर्माण गर्ने क्रममा आवश्यक परेको कानुन संवत् हुने सम्पूर्ण कार्यमा सहजिकारण गर्ने प्रतिबद्धता गरेको आयोजनको योजना प्रमुख सुशील अधिकारीले मर्दीसेति डटकमलाई जानकारी दिए । आयोजनामा तोकिएको समयमै सम्पन्न हुने विश्वास समेत उनले व्यक्त गरे ।
कम्पनीले आयोजनाको निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ ।