श्री डण्डुरी सामुदायिक वनको १५ औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न
हेमजा, भाद्र ६ । पोखरा महानगरपालिका–२५, हेमजास्थित श्री डण्डुरी सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारण सभा, नवनिर्मित सामुदायिक भवन उद्घाटन तथा दाता सम्मान कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नवनिर्मित सामुदायिक भवनको औपचारिक उद्घाटनसँगै भवन निर्माण तथा सामुदायिक वनको विकासमा उल्लेखनीय योगदान पुर्याउने दाताहरूलाई सम्मान गरिएको थियो।
सामुदायिक वन उपभोक्ता महासंघ, गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता डण्डुरी सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालिदास सुवेदीले सामुदायिक वन उपभोक्ता समूहहरू वन संरक्षणमा मात्र सीमित नभई स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय विकासमा समेत सक्रिय हुनुपर्ने बताए। उनले सामुदायिक वनको संरक्षण, पारदर्शी व्यवस्थापन र उपभोक्ताको हितलाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। नवनिर्मित सामुदायिक भवनले उपभोक्ताबीचको सहकार्य र संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले डण्डुरी सामुदायिक वनको प्रगतिको शुभकामना दिए।
कार्यक्रममा पोखरा–२५ का वडा सदस्य कृष्णबहादुर कुँवर, सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष तथा जिल्ला महासंघका लेखा संयोजक कमलमणि त्रिपाठी, महासंघ वडा–२५ इकाइ कमिटी संयोजक कृष्णबहादुर कुँवर क्षेत्री, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा हेमजाका अध्यक्ष देवीप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयुक्त रूपमा समूहकी सचिव अप्सरा तिमिल्सिना र सहसचिव झपटबहादुर नेपालीले सञ्चालन गरेका थिए भने समूहकी उपाध्यक्ष भगवती बजगाईंले स्वागत मन्तव्य राखेकी थिइन्।
सभामा बोल्दै अन्य वक्ताहरूले सामुदायिक वन केवल वन संरक्षणमा मात्र सीमित नभई स्थानीय समुदायको हित, वातावरण संरक्षण, सामाजिक विकास र सामुदायिक एकताको महत्त्वपूर्ण आधार बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले वनको संरक्षण र सदुपयोगसँगै समुदायको आवश्यकता पहिचान गरी आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न शुभकामना दिएका थिए।
सभामा समूहकी सचिव अप्सरा तिमिल्सिनाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विष्णुहरि तिमिल्सिनाले आर्थिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सभाले संस्थाको आगामी कार्यदिशा तथा विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।
कार्यक्रममा वन उपभोक्ता, स्थानीयवासी, पदाधिकारी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सामुदायिक भवन उद्घाटन, दाता सम्मान र वार्षिक साधारण सभालाई एकैसाथ सम्पन्न गर्दै डण्डुरी सामुदायिक वनले संरक्षणसँगै सामाजिक विकास र सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।


