लियो काठमाडौँ सहयात्रीद्वारा साइबर सुरक्षा तालिम सम्पन्न

Headlines Top Post समाचार होमपेज

२०७३ सालमा स्थापना भई सक्रिय सामाजिक संस्थाको रूपमा आफ्नो पहिचान बनाउन सफल लियो क्लब अफ काठमाडौँ सहयात्रीले बिहीबार नेशनल अर्किड बोर्डिङ हाई स्कुल (NOBS) का कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि साइबर सुरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै मानव जीवनमा यसको प्रयोगप्रति आकर्षण बढ्दो रहेको र त्यससँगै देखिएका साइबर चुनौतीहरूलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष प्रियङ्का श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी सहजीकरण गर्दै साइबर सुरक्षा विज्ञ सैजेन डङ्गोलले विभिन्न साइबरजन्य हमलाका उदाहरण प्रस्तुत गर्दै साइबर सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग, इन्टरनेटका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण तथा अनधिकृत पहुँच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे विस्तृत जानकारी दिनुभयो।

सहभागीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्ना जिज्ञासा समेत राखेका थिए, जसले गर्दा कार्यक्रम निकै प्रभावकारी र अन्तरक्रियात्मक बनेको आयोजकको भनाइ छ। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।

तालिममा लियो क्लबका विभिन्न पदाधिकारी, विद्यालयका शिक्षक तथा विद्यार्थी गरी करिब ८० जनाको सहभागिता रहेको थियो। कार्यक्रमले डिजिटल युगमा सुरक्षित र सचेत प्रयोगकर्ता निर्माण गर्ने लक्ष्यसहित युवाहरूलाई सशक्त बनाउने प्रतिबद्धता झल्काएको छ। लियो क्लब अफ काठमाडौँ सहयात्रीकी अध्यक्ष प्रियङ्का श्रेष्ठको अध्यक्षतामा तालिम सम्पन्न भएको हो।