कास्कीमा सहकारी डाइरेक्ट्री २०८२ बिमोचन, नीति–नियम पालना गर्न कडाइका साथ निर्देशन
पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लि. ले आफ्ना सदस्य संस्थाहरूको परिचय तथा वित्तीय विवरण स
मेटिएको “सहकारी डाइरेक्ट्री २०८२” एक समारोहका बीच सार्वजनिक गरेको छ। पोखरा न्यूरोडस्थित होटल दीपसागरमा सम्पन्न कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालयका नि. प्रमुख अमृत प्रसाद कडेलले डाइरेक्ट्री बिमोचन गर्दै सहकारी संस्थाहरूले सरकारद्वारा जारी नीति, नियम र निर्देशनको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए।
उनले सहकारी क्षेत्रको विश्वसनीयता र दीगो विकासका लागि विधि–सम्मत सञ्चालन अपरिहार्य रहेको उल्लेख गर्दै नियम अवज्ञा गर्ने संघ–संस्थामाथि कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारे। साथै, सहकारीका विषयगत संघ र जिल्ला सहकारी संघबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्व सञ्चालक मिना रानाभाट, नारायण प्रसाद आचार्य, पूर्व अध्यक्ष सुदीप ढकाल, भीम गुरुङ, निवर्तमान अध्यक्ष भेषराज बराल, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दीपकराज वास्तोला तथा नेफ्स्कुनकी सञ्चालक कमला गिरीले शुभकामना मन्तव्य राख्दै सहकारी अभियानलाई अझ सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
सोही अवसरमा संघका निवर्तमान कर्मचारी इन्दिरा कार्की थापालाई करिब ११ वर्षसम्म संस्थामा निरन्तर सेवा पुर्याएको योगदानको कदर गर्दै प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो।
संघका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ईश्वरप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने “सहकारीका सात सिद्धान्त”बारे सञ्चालक कल्पना श्रेष्ठले प्रस्तुति राखेकी थिइन्। कार्यक्रम सञ्चालन सचिव मिनराज तिमल्सिनाले गरेका थिए।
