पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।
मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ ।
हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको मंगलबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेका पोखरा घारीपाटनका धुर्व विजुक्छेले बताए । ग्राहकको अत्याधिक चापका कारण त्यहाँ आलु किन्न लाइन नै लाग्ने गरेको छ ।
आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण, माछापुच्छे«, रुपा एवम् मादी गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही, मकवानपुर लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने मंगलबार साँझसम्म २० लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु।३५ मा आलु बिक्री गरिएको छ ।
महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको पाँचौ दिन मंगलबार नयाँवर्षको सार्वजनिक विदा परेकाले त्यहाँ दर्शकको भीडभाड देख्न सकिन्थ्यो । मंगलबार मात्रै १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएका छन् ।
महोत्सव अन्तर्गत मंगलबार कलाकारहरु शिव हमाल, राजु ढकाल, कृष्ण गुरुङ, नेत्र खड्का, ममता तामाङ, सुभद्रा श्रेष्ठ, भूमिका पंगेनी, प्रजिता सुनार, सर्गम गिरी, विपशा चदारो लगायत धवलागिरी बोडिङ स्कूलले प्रस्तति राखे । त्यस्तै पप कन्सर्टतर्फ पोखरेली व्याण्डका अलवा एञ्जिला रेग्मी र गगन गुरुङले प्रस्तति राख्दै दर्शकलाई नचाए ।
त्यस्तै महोत्सवमा बुधबार कलाकारहरु समीक्षा अधिकारी, कुमार पुन, राजन कार्की, तुलसा क्षत्री, नवराज अधिकारी, दुर्गा क्षत्री लगायतका प्रस्तुति रहनेछन् ।त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।
महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवम् कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउविजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् । महोत्सव यही बैशाख ५ गतेसम्म चल्नेछ ।

