अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आगामी आइतबारदेखि २७ औँ संस्करणको पोखरा सडक महोत्सव सुरु हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान्) पोखराको आयोजनामा लेकसाइड क्षेत्रको करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा आयोजना हुने महोत्सवको तयारी पूरा भएको आयोजकले शुक्रवार महोत्सव स्थल कोमागाने पार्कमा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव पुस १७ गतेसम्म चल्ने भएको छ ।पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजार विस्तार, लेकसाइडको ब्राण्डिङ तथा आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव निरन्तर आयोजना गर्दै आएको रेवान् पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । उहाँका अनुसार कला, संस्कृति र खानाका माध्यमबाट पोखराको पहिचान मजबुत बनाउन महोत्सव प्रभावकारी माध्यमका रूपमा स्थापित भइसकेको छ । महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख भेसभुसा तथा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुङा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगितालगायत विविध कार्यक्रम समावेश हुने महोत्सव संयोजक तथा रेवान् पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर पर्यटनको विकास, अवसर र चुनौतीबारे अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष–२०२५ र पोखरा पर्यटन परिषद् प्रवर्द्धकका रूपमा रहने छ भने सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ पार्टनरका रूपमा रहने बताइएको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबलकार, रेड बुललगायत संस्थाहरू सहयोगीमा रहेका छन् । महोत्सवमा पोखरा तथा आसपासका क्षेत्रमा उत्पादन भएका हस्तकला, चित्रकला, मुर्तिकला, कृषि तथा वनस्पति सम्बन्धी उत्पादनलाई प्राथमिकता दिइने रेवान् पोखराका महासचिव वीरेन्द्र शेरचनले बताउनुभयो । महोत्सवमा सुरक्षाको व्यवस्थापन सुरक्षा निकायसँगको समन्वयमा गरिने र आवश्यक संख्याामा स्वयंसेवक परिचालन गरिने निवर्तमान अध्यक्ष नरेश भट्टराईले बताउनुभयो । हिट्स अफ नाइन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एन्ड द लुङ्गा लाईभ प्रस्तुति दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिइनेछ ।
पूर्व अध्यक्ष चौबहादुर गुरुङले यस वर्ष महोत्सवमार्फत गुरुङ तथा मगर समुदायको रोदी बस्ने सांस्कृतिक चलनलाई व्यावहारिक रूपमा प्रस्तुत गर्दै पोखरामा रोदीको झलक प्रस्तुत: गर्नु बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराई, पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष माधव बराल लगायतको सहभागिता रहेको थियो ।

