कास्की, बेलायतमा स्थित मर्दिखोला समाज युकेले स्कुटर दुर्घटनामा घाइते भएका माछापुच्छ्रे गाउँपालिका–८ निवासी नवराज अधिकारीलाई उपचारार्थ रु। २ लाख ७५ हजार सहयोग हस्तान्तरण गरेको छ।
शुक्रवार वडा कार्यालयमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष भगवान् गुरुङले उक्त रकम हस्तान्तरण गर्नुभएको हो। उपचारमा आर्थिक कठिनाइ भोग्दै आएका अधिकारीले सहयोग प्राप्त गरेपछि आफ्नो खुट्टा छिट्टै निको हुने विश्वास व्यक्त गर्दै मर्दिखोला समाज युके र पहलकर्ता वडा कार्यालय परिवारप्रति आभार प्रकट गर्नुभयो।
गत साउन २४ गते स्कुटर दुर्घटनामा परी देब्रे खुट्टामा गम्भीर चोट लागेर अपाङ्ग हुने अवस्था सिर्जना भएपछि वडा अध्यक्ष राम गुरुङको पहलमा वडा कार्यालयले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो। सोही अपिलपछि समाजका सदस्य सन्तोष गुरुङको प्रस्तावमा अध्यक्ष भगवान् गुरुङ, उपाध्यक्ष कुमार गुरुङ र महासचिव दीपक गुरुङको नेतृत्वमा समाजले सहयोग सङ्कलन अभियान सञ्चालन गरी उक्त रकम सङ्कलन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष राम गुरुङले “सेवा नै धर्म, मानवता नै सबैभन्दा ठुलो मूल्य” भन्ने विश्वाससहित मर्दिखोला समाज युकेले विगतदेखि नै मर्दिखोला क्षेत्रमा आपत्–विपत् र विपन्न अवस्थामा परेकाहरूलाई सहयोग गर्दै आएको बताउनुभयो। उहाँले सहयोग अभियानमा साथ दिने सम्पूर्णप्रति आभार प्रकट गर्दै समाज र गाउँबिचको सम्बन्ध अझ प्रगाढ बनेको धारणा राख्नुभयो।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य मनकुमारी तामाङ, वडा सदस्य चोकप्रसाद दाहाल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा। सुवास गुरुङ, टोल विकास संस्थाका अध्यक्ष तारानाथ अधिकारी, कुलबहादुर विकलगायतले मर्दिखोला समाज युकेले विदेशमा रहेर पनि गाउँको पीडामा साथ दिइरहेको जनाउँदै प्रशंसा गरेका थिए।
वडा अध्यक्ष राम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव विष्णुप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको थियो भने स्वागत वडा सदस्य अर्जुन परियारले गर्नुभएको थियो।
मर्दिखोला समाज युकेले विगतदेखि नै शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग र विकासका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ। पछिल्लो पटक गरिएको यो उपचार सहयोगले पनि समाजको मानवीय सेवा भावलाई झनै मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

