पर्यटकीय नगरी पोखरामा आज देखि कोटी होम विराट ज्ञान महायज्ञ सुरु 

Headlines

पोखरा, १७ वैशाख । पर्यटकीय नगरी पोखरामा बुधवारदेखि श्री गण्डकी शतकुण्डीय गायत्री कोटी होम विराट ज्ञान महायज्ञ सुरु भएको छ । मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा महायज्ञ औपचारिक रूपमा सुरु भएको हो ।

महायज्ञमा निर जनी पिठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलासानन्द गिरिजी महाराजले बुधवार विहान ७ बजेर २७ मिनट जाँदा हवानादी कार्यको विधिवत् शुभारम्भ गरी महायज्ञ सुरु भएको हो ।

नेपाल पञ्चाड्ड निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै महायज्ञको विधिवत् रूपमा सुरु गरिएको कोटि होम महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जानकारी दिए ।

वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका अनुसार वैशाख १९ गते कोटी होम महायज्ञमा  हवनात्मक कार्यक्रको प्रारम्भ हुने छ । सोही दिन बिहान ६ बजेर ४५ मिनेटमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी कोटी होमको प्रारम्भ हुने उनले जानकारी दिए । महायज्ञमा १ सय वटा हवन कुण्ड रहेका छन् ।

जेठ २६ गते सोमबार कोटि होम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । महायज्ञको मुख्य दिन वैशाख १७ देखी जेठ २६ गतेसम्म सयौँ गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाइएको छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामा भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले वैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।
महायज्ञ औपचारिक रूपमा शुरुहुनु भन्दा अघिल्लो दिन निकालिएको शोभा कलश यात्राले महायज्ञ सफल भएको आम भक्तजनको आवाज रहेको थियो ।
महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले महायज्ञमा सहभागी जनाएर पुण्य लाभ लिन सबै भक्तजनमा आग्रह गर्नुभयो ।
‘महायज्ञका हरेक दिन भएका गतिविधिमा भक्तजन सहभागितालाई हामीलाई उत्साहित बनाएको छ’ उनले भने, ‘यो ऐतिहासिक कार्यक्रममा पक्कै पनि कोही छुट्नुहुन्न।’

महायज्ञका प्रदेश तथा केन्द्रीय सरकार सांसद, विभिन्न धार्मिक तथा सामाजिक अभियन्ता सञ्चारकर्मीको उपस्थिति बढ्दै गएको छ ।
महायज्ञमा कथा, राम कथा, शिव महापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देव लीला र नृत्य प्रस्तुतिहरू हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । महायज्ञ स्थलमा विवाह, व्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरू राखिएको मूल आयोजक समितिका निर्देशक शङ्कर खरालले जानकारी दिए ।

महायज्ञमा स्वदेशबाट मात्रै नभई विदेशबाट पनि विदेशी धार्मिक पर्यटकको समने आगमन हुन थालेको छ ।  महायज्ञमा घरपझोङ गाउँपालिका जोमसोम मुस्ताङका अध्यक्ष मोहन सिंह लालचनले नगद २ लाख ५५ हजार प्रदान गरेका छन् । उनी यो महायज्ञमा अनाथ बच्चाको एक वर्षको अभिभावक बन्ने पहिलो व्यक्ति बनेका छन् ।

कोटि होममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तिल, तेल, देव दारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउन्डेसनले अनुरोध गरेको छ ।

आयोजकले सामाजिक सञ्जालमा मानव सेवा फाउन्डेसन र गण्डकी कोटि होम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तिलाई २५ हजार सम्मको पुरस्कार र सम्मान पत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।