माछापुच्छ्रे इन्जिनियर सोसाइटीद्वारा गाउँपालिकाको दिगो विकासमा प्राविधिक भूमिकाबारे छलफल

Headlines समाचार

कास्की |माछापुच्छ्रे इन्जिनियर सोसाइटीको आयोजनामा परिचय, भेटघाट तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। पोखरा–२५, हेम्जामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियर तथा प्राविधिक व्यक्तित्वहरूले आफ्नो अनुभव आदानप्रदान गर्दै माछापुच्छ्रे गाउँपालिकाको विकासका चुनौती, सम्भावना र प्राविधिक समाधानका उपायबारे छलफल गरेका छन्।

सोसाइटीका अध्यक्ष इन्जिनियर सुशील अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विकास निर्माणलाई गुणस्तरीय, सुरक्षित र दिगो बनाउन प्राविधिक अध्ययन, तथ्याङ्कमा आधारित योजना, प्रभावकारी अनुगमन तथा राजनीतिक नेतृत्व र प्राविधिक जनशक्तिबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा अध्यक्ष अधिकारीले गाउँपालिकाको विकासमा प्राविधिक जनशक्तिको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउँदै संस्थागत सहकार्य र प्राविधिक शिक्षाको विकासमा जोड दिनुभयो। रुद्रनाथ आचार्यले गाउँपालिकालाई विभिन्न प्राविधिक क्षेत्रमा परामर्श तथा सहयोग उपलब्ध गराउन सोसाइटीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, रविन राज गौतमले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (AI) र तथ्याङ्क संरक्षणको महत्त्वबारे चर्चा गर्दै स्थानीय विकाससम्बन्धी तथ्याङ्कको व्यवस्थित सङ्कलन र उपयोगमा जोड दिनुभयो। सुनील दाहालले गाउँपालिकाका विभिन्न क्षेत्रको सन्तुलित विकास तथा पूर्वाधार योजनालाई समग्र रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

सोसाइटीका सचिव धिरन बिकले विकासका योजना प्रभावकारी बनाउन राजनीतिक नेतृत्व र प्राविधिक क्षेत्रबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले संस्थालाई प्राविधिक दक्षता, व्यावसायिक मर्यादा र सामूहिक उत्तरदायित्वमा आधारित सशक्त संगठनका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सडक, भवन, खानेपानीलगायत पूर्वाधार निर्माणमा प्राविधिक मापदण्ड, भौगोलिक अवस्था, विपद् जोखिम, लागत प्रभावकारिता र दीर्घकालीन मर्मतसम्भारलाई ध्यान दिनुपर्ने विषयसमेत उठाइएको थियो। सहभागीहरूले आ–आफ्नो कार्यक्षेत्रका अनुभव साझा गर्दै स्थानीय विकासका विद्यमान चुनौती र सुधार गर्नुपर्ने पक्षबारे विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा सोसाइटीको संस्थागत सुदृढीकरण, दर्ता प्रक्रिया अगाडि बढाउने तथा गाउँपालिकाको विकासमा इन्जिनियरहरूको ज्ञान, सीप र अनुभव उपयोग गर्ने विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले स्थानीय विकासलाई योजनाबद्ध, प्रभावकारी र दिगो बनाउन प्राविधिक क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।