लाहाचोक वडा अध्यक्ष कप–२०८३ : फुटबल र भलिबलको उपाधि भिडन्त भोलि

Headlines खेलकुद

लाहाचोक। माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकमा सञ्चालित वडा अध्यक्ष कप–२०८३ अन्तर्गत असोज २४ गते विभिन्न खेलहरू सम्पन्न भएका छन्। प्रतियोगितामा फुटबल, भलिबल, रस्साकस्सी तथा दौडलगायतका विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह असोज २५ गते हुने भएको छ।

प्रतियोगिताको व्यवस्थापक संस्था त्रिशक्ति युनाइटेडका सचिव सुशील श्रेष्ठले मर्दिसेती डटकमलाई दिएको जानकारीअनुसार फुटबल तथा भलिबलका फाइनल खेलसँगै प्रतियोगिताका अन्य कार्यक्रम पनि सञ्चालन हुनेछन्।

फुटबलतर्फ फाइनल खेलको समीकरण

विद्यालयस्तरीय फुटबल प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय र निष्पक्ष माध्यमिक विद्यालयबीच भएको खेलमा निष्पक्ष माध्यमिक विद्यालय विजयी भएको छ। त्यस्तै, उदय माध्यमिक विद्यालय र बराह माध्यमिक विद्यालयबीचको खेलमा उदय माध्यमिक विद्यालय विजयी भएको छ।

खुला वडास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा वडा नं. ६ र वडा नं. ४ बीच भएको खेलमा वडा नं. ४ विजयी भएको छ।

यसैगरी, सेमिफाइनलतर्फ पहिलो खेलमा वडा नं. ३ र वडा नं. ८ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा वडा नं. ४ र वडा नं. ९ भिड्नेछन्। यी दुई सेमिफाइनलका विजेता टोलीबीच असोज २५ गते उपाधिका लागि फाइनल खेल हुनेछ।

भलिबलमा वडा नं. ६ र वडा नं. ९ फाइनलमा

पुरुष भलिबलतर्फ वडा नं. ६ र वडा नं. ५ बीच भएको प्रतिस्पर्धामा वडा नं. ६ विजयी भएको छ। त्यस्तै, वडा नं. ३ र वडा नं. ९ बीचको खेलमा वडा नं. ९ विजयी भएको छ।

यससँगै पुरुष भलिबलको उपाधिका लागि वडा नं. ६ र वडा नं. ९ बीच फाइनल प्रतिस्पर्धा हुने भएको छ।

रस्साकस्सीमा वडा नं. ६ र हिमचुली आमा समूह प्रथम

रस्साकस्सी प्रतियोगिताको पुरुषतर्फ वडा नं. ६ प्रथम र वडा नं. ४ दोस्रो भएका छन्। महिलातर्फ हिमचुली आमा समूह प्रथम र धवलागिरि आमा समूह दोस्रो भएका छन्।

दौडतर्फ अनिल थापा मगर प्रथम

दौड प्रतियोगिताको पुरुषतर्फ अनिल थापा मगर प्रथम, सुनिल शाही दोस्रो र सुगम अधिकारी तेस्रो भएका छन्।

वडा अध्यक्ष कपले खेलकुदसँगै महिला समूह, युवा तथा स्थानीय समुदायको सहभागितालाई समेत प्राथमिकता दिएको छ। विभिन्न विधाका प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन तथा सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

असोज २५ गते हुने फाइनल खेल तथा समापन समारोहसँगै वडा अध्यक्ष कप–२०८३ सम्पन्न हुनेछ।