नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अधिवक्त्ता सरिता तिम्सिना पगेनीको उम्मेदवारी

Headlines राजनीति

नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अधिवक्त्ता सरिता तिम्सिना पगेनीको उम्मेदवारी

पोखरा। नेपाली कांग्रेसको साङ्गठनिक राजनीति, पत्रकारिता तथा कानुनी क्षेत्रमा लामो समयदेखि सक्रिय अधिवक्ता सरिता तिम्सिना पगेनीले कास्की क्षेत्र नं ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। पछिल्लो समय पार्टी राजनीति तथा सामाजिक क्षेत्रमा महिलाहरूको सशक्त र प्रभावकारी उपस्थिति बढ्दै गएको सन्दर्भमा पगेनीले पनि नेतृत्व तहसम्म आफ्नो पहुँच स्थापित गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएकी हुन्।

नेपाली कांग्रेसको क्रियाशील सदस्य हुँदै वडा सचिव र क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेकी पगेनी यसअघि पनि महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी थिइन्।  यसपटक पनि क्षेत्रीय प्रतिनिधिहरूको पूर्ण साथ र विश्वास पाउनेमा दृढ छिन्।

व्यावसायिक रूपमा कानुनी क्षेत्र (अधिवक्ता) र नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियनको पनि  पूर्व केन्द्रीय सदस्यको रूपमा आफ्नो पहिचान बनाएकी पगेनीसँग बहुआयामिक अनुभव छ। उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद सदस्य, नेपाली कांग्रेस कास्कीको प्रशिक्षण विभाग सदस्य तथा प्रजातान्त्रिक पत्रकार सम्बद्ध एवं डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) कास्कीको सदस्यका रूपमा निरन्तर क्रियाशील रहँदै आएकी छन्।

विभिन्न आवधिक निर्वाचनहरूमा पार्टीका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेकी पगेनीले महिला सशक्तिकरण, नेतृत्व विकास, कानुनी जागरूकता, र समावेशी समाज निर्माणलाई आफ्नो मुख्य प्राथमिकता र प्रतिबद्धता बनाएकी छन्।

स्थानीय तहदेखि केन्द्रीय तहसम्म महिलाको अर्थपूर्ण नेतृत्व स्थापित हुनुपर्छ, उम्मेदवार पगेनीले भनिन् ,“ विगतका अनुभव, मेरो निरन्तरको क्रियाशीलता र वैचारिक स्पष्टताका आधारमा कास्की क्षेत्र नं ३ का आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूले यसपटक मलाई आफ्नो अमूल्य मत दिएर सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।

पार्टीभित्र निष्ठावान्, बौद्धिक र समावेशी नेतृत्वको रूपमा चिनिएकी पगेनीको चुनावी मैदानमा उम्मेदवारी संगै कास्की क्षेत्र नं. ३ को राजनीतिक माहौल थप उत्साहजनक बनेको छ।