कास्की। ‘विद्यालय भनेको किताब पढ्ने ठाउँ मात्र हो’ भन्ने आम बुझाइलाई चुनौती दिँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर लगेर व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप सिकाउने अभ्यास थालेको छ।
विद्यालयका कक्षा ८ र ९ का विद्यार्थीलाई शनिबार धितालको बाजा पार्कसम्म हाइकिङ गराउँदै स्थानीय कला, संस्कृति र मौलिक बाजाबारे जानकारी दिइएको थियो भने सोमबार भुर्जुङ खोलास्थित रेनबो ट्राउट क्षेत्रको अवलोकनसँगै पौडी खेल्ने अभ्यास गराइएको हो।
विद्यालयकी शिक्षिका रमिला पौडेल र शिक्षक सुशील नेपालीको नेतृत्वमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीले हाइकिङ, प्रकृति अवलोकन, स्थानीय संस्कृति तथा जलपर्यावरणबारे प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए।
बाजा हेरेर संस्कृति बुझे, प्रकृति हेरेर वातावरण सिके
धितालको बाजा पार्कमा विद्यार्थीले स्थानीय मौलिक बाजाहरूको अवलोकन गर्दै आफ्नो गाउँ–ठाउँको कला तथा संस्कृतिबारे प्रत्यक्ष ज्ञान हासिल गरेका थिए। आधुनिक संगीतको बढ्दो प्रभावसँगै लोप हुने अवस्थामा पुगेका पुराना तथा मौलिक बाजाको संरक्षण आवश्यक रहेको चेतनासमेत विद्यार्थीमा विकास भएको सहभागी विद्यार्थी सदीक्षा बास्तोलाले बताइन्।
‘किताबमा पढेको संस्कृति र आफ्नै आँखाले देखेको संस्कृति फरक रहेछ,’ भन्दै विद्यार्थीहरूले स्थानीय बाजाको महत्व र संरक्षणबारे थप जानकारी पाएको अनुभव सुनाएका छन्।
त्यस्तै, भुर्जुङखोलास्थित रेनबो ट्राउट क्षेत्रको भ्रमणका क्रममा विद्यार्थीले जलस्रोत, जैविक विविधता र वातावरणीय सन्तुलनको महत्वबारे व्यावहारिक ज्ञान लिएका थिए। जैविक विविधताले पारिस्थितिक प्रणाली (ECOSYSTEM) लाई कसरी सन्तुलित राख्न सहयोग गर्छ भन्ने विषयसमेत उनीहरूले प्रत्यक्ष अवलोकनबाट बुझ्ने अवसर पाए।
ग्रामीण विद्यालयबारेको सोच बदल्ने प्रयास
विद्यालयका सञ्चालक भगवान साहीलका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूलाई समाज, संस्कृति, प्रकृति र जीवनसँग जोड्ने उद्देश्यले यस्ता गतिविधि सञ्चालन गरिएको हो। उनले भने, “ग्रामीण क्षेत्रमा सञ्चालन भएका विद्यालयमा पढाइ किताबी ज्ञानमा मात्र सीमित हुन्छ भन्ने सोचलाई व्यवहारमै गलत साबित गर्ने हाम्रो प्रयास हो। विद्यार्थीले पढेको कुरा आफैंले देख्न, छुन र अनुभव गर्न पाए सिकाइ अझ प्रभावकारी हुन्छ।”
विद्यालयले हाइकिङ, स्थानीय संस्कृति अवलोकन, वातावरणीय अध्ययन तथा पौडीजस्ता गतिविधिमार्फत विद्यार्थीमा आत्मनिर्भरता, अनुशासन, साहस, शारीरिक सक्रियता र व्यवहारिक ज्ञान विकास गर्ने विश्वास लिएको छ।
कक्षाकोठामा शिक्षकले पढाएको पाठभन्दा बाहिर निस्किएर प्रकृतिलाई पुस्तक, समाजलाई प्रयोगशाला र स्थानीय संस्कृतिलाई जीवित पाठका रूपमा बुझ्ने अवसर पाएपछि विद्यार्थीसमेत उत्साहित देखिएका थिए।
ज्ञानज्योतिको यो अभ्यासले ग्रामीण क्षेत्रमा रहेका विद्यालय पनि आधुनिक, व्यवहारिक र जीवनोपयोगी शिक्षाको केन्द्र बन्न सक्छन् भन्ने सकारात्मक सन्देश दिएको छ।
आगामी दिनमा पनि यस्ता व्यवहारिक, सिर्जनात्मक तथा जीवनोपयोगी कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीलाई कक्षाकोठाको सीमाभन्दा बाहिर लगेर सिकाइको अवसर प्रदान गर्ने विद्यालयले जनाएको छ।


