हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजना तथा शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा आयोजित पालिका स्तरीय बृहत् शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा ५ वटा विद्यालय उत्कृष्ट घोषित भई सम्मानित भएका छन्।
वैशाख १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको प्रदर्शनी कार्यक्रममा पालिका भित्रका १० वटा माध्यमिक तहका सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो। सहभागी विद्यालयहरूले विद्यार्थी तथा शिक्षकद्वारा तयार पारिएका विज्ञान, प्रविधि, गणित, सामाजिक, नेपाली, संस्कृति तथा हस्तकला सम्बन्धी विविध शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए।
दश वटा विद्यालयमध्ये पाँच विषयगत क्षेत्रमा गरिएको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच विद्यालयलाई नगद रु १०,००० का दरले सम्मान गरिएको छ। जसअनुसार गणिततर्फ माछापुच्छ्रे मा.वि उत्कृष्ट भएको छ। त्यस्तै विज्ञानतर्फ महेन्द्र मा.वि लाहाचोक, अंग्रेजीतर्फ बराह मा.वि, सामाजिकतर्फ उदय मा.वि र नेपालीतर्फ गौरीशंकर–मनीलाल मा.वि पुरस्कृत भएका छन्।
कार्यक्रममा शारदा मा.वि, माछापुच्छ्रे मा.वि, शुक्लागण्डकी मा.वि, महेन्द्र मावि, बराह मा.वि, पृथ्वीनारायण मा.वि, निष्पक्ष मा.वि, भूमेश्वर मा.वि र गौरीशंकर–मनीलाल मा.विको सहभागिता रहेको थियो।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सहभागी विद्यालयसहित ५ उत्कृष्ट विद्यालयलाई धन्यवाद व्यक्त गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीहरूको सृजनशीलता बढाउने र सिकाइलाई व्यवहारिक बनाउन सहयोग पुग्ने बताइन्। उनले यस्ता कार्यक्रमले गाउँपालिकाको शैक्षिक अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन्। साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पालिका मातहतबाट आवश्यक पहल निरन्तर रहने पनि उल्लेख गरिन्।
शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले विद्यार्थीहरूले सिकेका विषयलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा यो कार्यक्रमलाई लिइएको बताइन्। उनले गत वर्षदेखि सुरु गरिएको कार्यक्रमले सकारात्मक नतिजा दिएको उल्लेख गर्दै यस वर्ष पनि सञ्चालन गरिएको र आगामी दिनमा समेत निरन्तरता दिइने बताइन्।
मूल्याङ्कन समितिमा शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारी, शिक्षा समिति सदस्य गोविन्द अधिकारी, विषयगत शिक्षक नरबहादुर गुरुङ लगायतको महत्वपूर्ण भूमिका रहेको थियो।
प्रदर्शनी अवलोकनपछि शिक्षक तथा अभिभावकहरूले कार्यक्रम निकै प्रभावकारी भएको धारणा व्यक्त गरेका थिए।
