मानव सेवा आश्रमद्वारा पोखरामा १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्ट सहित आयोजित महायज्ञ वैशाख २६ गतेसम्म पोखरा–२५ हेमजामा सञ्चालन हुनेछ । महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गलेश्वर धामका पिठाधिस अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
महायज्ञ अवधिभर कथा वाचक युवा पण्डित कमलनयन गौतमले दैनिक रूपमा कथा वाचन गर्नुहुनेछ भने, महायज्ञमा बिहान ५ः३० देखि ७ः३० बजेसम्म निःशुल्क योग शिविर, ७ बजेदेखि पूजा तथा पाठ पारायण, ७ः३० देखि १० बजेसम्म विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम, ११ बजेदेखि ४ बजेसम्म कथा वाचन, ४ः१५ बजे आरती, ४ः३० बजे प्रसाद वितरण तथा साँझ ७ देखि ९ बजेसम्म भजन कार्यक्रम सञ्चालन हुनेछ । प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन हुनेछ ।
महायज्ञमा सङ्कलन भएको रकम मानव सेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष श्रीवृद्धिका लागि खर्च हुनेछ । हाल आश्रमको भवन निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ । पोखरा महानगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहयोगसहित दाताहरूको योगदानबाट निर्माण कार्य अघि बढेको आश्रमले जनाएको छ ।
मानव सेवा आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त तथा अभिभावकविहीन बालबालिका तथा सडक मानवहरूको उद्धार, संरक्षण, औषधोपचार, पुनः स्थापनाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
