माछापुच्छ्रे गाउँपालिकामा १० दिने बरिष्टा तथा बेकरी तालिम सुरु

Headlines समाचार

पोखरा, बैशाख ११ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले युवालाई सीपयुक्त र आत्मनिर्भर बनाउने उद्देश्यका साथ १० दिने बरिष्टा तथा बेकरी सम्बन्धी सिप विकास तालिम सञ्चालन गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुबेदीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा शुक्रबार उक्त तालिमको शुभारम्भ गरिएको हो।

तालिममा सहजीकरण तथा व्यवस्थापन ग्रामीण उद्यमशीलता विकास केन्द्र, बागलुङले गरेको छ भने प्राविधिक सहयोग धौलागिरी प्राविधिक शिक्षालयले प्रदान गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले युवालाई व्यावसायिक सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गर्दै यसअघि पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको र आगामी दिनमा समेत निरन्तरता दिइने बताए। साथै, सोही अवसरमा गाउँपालिकाले ब्यूटी पार्लर तथा हेयर सलुन सम्बन्धी तालिम पनि केही दिनदेखि सञ्चालनमा आइसकेको जानकारी गराइएको छ।

यसैबीच, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ९ का अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले तालिममा सहभागी युवाहरूलाई नतिजामुखी भएर, भित्रैदेखि लगावका साथ सीप सिक्न आग्रह गरे। उनले यस्ता सीप हासिल गर्न सके व्यक्तिले आफैंमा आत्मनिर्भर भई आफ्नो भविष्य सुनिश्चित गर्न सक्ने बताए। साथै, बरिष्टा तथा बेकरी जस्ता सीपहरूको विश्व बजारमा समेत माग बढ्दो रहेको उल्लेख गरे।

१० दिने उक्त तालिममा मुख्य प्रशिक्षकको भूमिका मोहित श्रेष्ठले निर्वाह गर्ने र सो सम्बन्धी जानकारी उद्यम विकास सहजीकर्ती दिलकुमारी थापाले दिएकी छन्।