पोखरा, १३ फागुन । नेपाली काँग्रेस कास्कीको आयोजनमा यही फागुन १५ गते पोखराको अमरसिंहचौरमा विशाल आमसभा हुने भएको छ ।
आमसभा बारे जानकारी दिन आज नेपाली काँग्रेस कास्कीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति किशोरदत्त बरालले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसभा आयोजना गरिएको जानकारी दिनुुभयो ।
आमसभालाई नेपाली काँग्रेसका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्माले विशेष सम्बोधन गर्नुहुने उहाँले जानकारी दिनुुभयो । नेपाली काँग्रेस कास्कीले आयोजना गरेको भएपनि आमसभामा प्रदेश अन्तर्गत जिल्लाहरूबाट उम्मेदवार सहित नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागी रहने बताउँदै उहाँले उक्त अवसरमा प्रदेश भित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको एक÷एक मिनेट समयावधिको परिचयात्मक भिडियो प्रस्तुत हुने जानकारी दिनुुभयो ।
“ ‘बदल्यौ काग्रेस, बदल्छों देश’ भन्ने दृढ संकल्पका साथ आयोजना हुन लागेको यो आमसभाको मुख्य उद्देश्य बदलिएको काँग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिनु हो”, सभापति बरालले भन्नुुभयो, “बदलिएको काँग्रेस भनेको विधि र संस्थागत प्रणालीलाई प्राथमिकता दिने, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा लागू गर्ने, युवाशक्ति, उद्यमशीलता र रोजगारी सिर्जनालाई केन्द्रमा राख्ने तथा लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धिको ठोस मार्गचित्र प्रस्तुत गर्ने काँग्रेस हो । नेपाली काँग्रेस अब केवल नारामा सीमित नभई परिणाममुखी कार्ययोजनासहित अघि बढिरहेको बताउँदै उहाँले बदलिएको सोच बदलिएको शैली र बदलिएको प्रतिवद्धतामार्फत देश परिवर्तनको अभियानलाई सशक्त बनाउने पार्टीको अठोट रहेको बताउनुुभयो ।
चुुनावी सभा व्यवस्थापन समितिका संयोजक एवम् नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाले सभामा १५ हजार भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहने जानकारी दिनुुभयो । सभा व्यवस्थापनका लागि गुरुङका संयोजकत्वमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ हुनुुभएको समिति गठन गरिएको थियो ।
सभालाई भव्य बनाउनका लाति तयारी तीव्र पारिएको र जिल्लाका साथै प्रदेशका विभिन्न जिल्लाहरूबाट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने नेपाली काँग्रेस कास्कीका सहसचिव एवम् प्रवक्ता नविन सिग्देलले जानकारी दिनुुभयो ।

