मंसिर ६,लाहाचोक । माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले उत्कृष्ट शैक्षिक संस्था तथा जनशक्ति सम्मान तथा पुरस्कार वितरण कार्यक्रम २०८२ सम्पन्न गरेको छ । शनिवार माछापुच्छ्रे –४,लाहाचोक महेन्द्र मा।वि खेल मैदानमा शिक्षा दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने, विद्यार्थी ,शिक्षक, विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन समिति, पूर्व सेवा निवृत्त प्रधानाध्यापक तथा शिक्षक साथै पूर्व शिक्षा समितिका सदस्यहरूलाई नगद पुरस्कार,प्रमाणपत्र तथा खादाद्वारा सम्मान गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले गाउँपालिका भित्रको शिक्षाको गुणस्तरलाई थप टेवा पुग्ने विश्वासका साथ उत्कृष्ट शैक्षिक संस्था तथा जनशक्ति सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजन गरिएको बताए । गुरुङले आगामी दिनमा पालिकाका भित्रको शिक्षा क्षेत्रले अन्य ठाउँको विद्यालयहरू भन्दा उत्कृष्ट नतिजा प्रदान गर्ने सकोस्,”उनले भने । पालिकाले हजुरहरूको असहज परिस्थितिमा सहजीकरणको भूमिका मात्र खेल्ने हो, शिक्षाको अमूल परिवरतनका लागि मुख्य मुभिका विद्यार्थी, शिक्षक,शिक्षिका एवं अभिभावकहरूको नै हुने थप उल्लेख गरे ।
उपाध्यक्ष सीता अधिकारीले शिक्षक समाजको मेरुदण्ड हो । शिक्षक त्यो शक्ति हो जसको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भावी सन्ततिहरू माथि प्रभाव रहन्छ । त्यसैले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता राखेर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको र भावी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले शिक्षक केवल किताबी ज्ञान दिने पात्र मात्र हैन,शिक्षक समाजको अगुवा पनि हो,रूपान्तरणको माध्य,नेतृत्वकर्ता साथै सुसंस्कृत समाज निर्माणको एउटा आधार रहेको बताए । उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाई क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पुग्ने उनको भनाई थियो ।
गाउँपालिका प्रवक्ता एव वडा न। २ का अध्यक्ष गणेश आचार्यले गुड फ्राईडे कार्यक्रमलाई पालिकाले निरन्तरता दिएको भन्दै किताबी ज्ञान भन्दा व्यवहारिक शिक्षालाई प्राथमिकता दिनु पर्ने बताए ।
कार्यक्रममा सेवा निवृत शिक्षक जयलाल दवाडी,पुर्व गाउँ शिक्षा समिति बाट मिनराज अधिकारी,नेलम्बो नेपालका भिम प्रसाद भण्डारी,साथै विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक, विद्यार्थी,अभिभावक लगायतले शुभकामना दिएका थिए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत वडा न।९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि बहादुर क्षेत्रीले र सञ्चालन शिक्षा शाखा प्रमुख सम्झना पोख्रेल गरिन् ।
