पोखरा । पाठेघरको मुखको क्यानसर विरुद्ध कास्कीमा एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका अनुसार कास्की जिल्ला अन्तर्गतका पाँच वटै स्थानीइ तहमा गरि कुल २६ हजार २ सय ९६ जनालाई खोप लगाउने तयारी भएको छ ।
कास्कीको मादी गाउँपालिकामा पुस २९ देखि फागुन १ गतेसम्म, माछापुच्छ्रे गाउँपालिकामा फागुन १ र २ गते, अन्नपूर्ण गाउँपालिकामा २२ देखि २७ गतेसम्म, रुपा गाउँपालिका २२ देखि २५ गतेसम्म र पोखरा महानगरपालिकामा माघ २२ देखि फागुन ६ गतेसम्म नै अभियान चल्ने उनले जानकारी दिए ।
अभियानको शुभारम्भ माघ २२ गते पार्दी मावि मुस्ताङचोकमा पूर्वान्ह ११ बजे गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गर्ने कार्यक्रम तय भएको प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार विद्यालय नजाने बालिकाहरुले पायक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा पुगेर खोप लगाउनुपर्नेछ ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले यो अभियानलाई सफल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । ६ देखि १० कक्षा सम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप करिब १७ लाख बालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
अभियान बेला महिनावारी भएपनि एचपिभी खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक अध्ययन अनुसर विश्वमा हरेक २ मिनेटमा एक जना महिला र नेपालमा ४ जना महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुने गरेको छ ।

