माछापुच्छ्रे–४ मा ‘अध्यक्षसँग पोषण वितरण कार्यक्रम’ सुरु: गर्भवती र सुत्केरीलाई अण्डा उपहार

Headlines स्वास्थ्य होमपेज

लाहाचोक (कास्की) । गर्भवती तथा सुत्केरी महिलाको पोषण सुधार गरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकमा ‘अध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला पोषण वितरण कार्यक्रम’ सुरु भएको छ।

“माछापुच्छ्रे–४ को अभियान, आमा र शिशुको पोषणमा योगदान” भन्ने मूल नाराका साथ वडा कार्यालयको पहल र स्वास्थ्य प्रवर्धन केन्द्र लाहाचोकको आयोजनामा २०८३ असोज २८ गते बुधबारदेखि उक्त कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो।

कार्यक्रमको पहिलो चरणमै वडाका ८ जना गर्भवती र ९ जना सुत्केरी गरी कुल १७ जना महिलालाई पोषणयुक्त आहार स्वरूप अण्डा वितरण गरिएको छ।

नियमित स्वास्थ्य जाँच गरे कुल २२५ अण्डा

स्वास्थ्य प्रवर्धन केन्द्र लाहाचोकका प्रमुख सिबबहादुर केसीका अनुसार, सरकारको तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्ने गर्भवती महिलालाई गर्भावस्थाभर कुल १८० वटा र सुत्केरी भइसकेपछि ४५ वटा गरी जम्मा २२५ वटा अण्डा उपलब्ध गराइने योजना छ।

पोषण पाउनका लागि गर्भवती महिलाले नेपाल सरकारको स्वास्थ्य सेवा प्रोटोकल अनुसार कम्तीमा आठ पटक र सुत्केरी महिलाले निर्धारित समयतालिका अनुसार चार पटक अनिवार्य स्वास्थ्य परीक्षण गराएको हुनुपर्ने व्यवस्था गरिएको छ। यस नियमले महिलाहरूमा पोषणको पहुँच बढाउनुका साथै नियमित स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्ने अपेक्षा गरिएको छ।

स्थानीय सरकारको प्राथमिकतामा आमा र शिशुको स्वास्थ्य

वडा नं. ४ का अध्यक्ष एवं स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष मधुसुधन अधिकारीको अध्यक्षतामा सम्पन्न शुभारम्भ समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि सुवेदीले कार्यक्रमको ब्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदी, कार्यपालिका सदस्य श्रीदेवी विक, वडा सदस्य अर्जुन अधिकारी र व्यवस्थापन समिति सदस्य कमला पौडेलले स्थानीय तहमा सुरु गरिएको यो कदमले सुरक्षित मातृत्व र स्वस्थ शिशु जन्माउन कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष मधुसुधन अधिकारीले समापन मन्तव्य व्यक्त गर्दै स्थानीय सरकारले आमा र नवजात शिशुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। गर्भवती र सुत्केरी अवस्था महिलाका लागि अति संवेदनशील हुने भएकाले यो कार्यक्रमले पोषण सुधारका साथै स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

स्वास्थ्य प्रवर्धन केन्द्रकी मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम फोकल पर्सन शान्ति पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्र प्रमुख केसीले राख्नुभएको थियो। सो अवसरमा कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सेवाग्राही महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।