लाहाचोक, कास्की । माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकमा आयोजित ‘वडा अध्यक्ष कप–२०८३’ खेलकुद तथा सांस्कृतिक प्रतियोगिता आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
“पर्यटन, कृषि, ऊर्जा र गुणस्तरीय पूर्वाधार : समुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार” भन्ने मूल नाराका साथ असोज २३ गतेदेखि तीन दिनसम्म माछापुच्छ्रे गाउँपालिका–४ को आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा फुटबल, भलिबल, दौड, रस्साकस्सी तथा गायनलगायतका खेलकुद र सांस्कृतिक विधा समावेश गरिएका थिए।
फुटबलमा मर्दीपुल र निष्पक्ष माविको बाजी
साविक वडा स्तरीय ११ ए साइड फुटबल प्रतियोगितामा साविक वडा नं. ३, मर्दीपुलले प्रथम स्थान हासिल गर्दै नगद रु. १० हजार पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, साविक वडा नं. ४ दोस्रो हुँदै नगद रु. ७ हजार पुरस्कारमा चित्त बुझाएको छ।
यसैगरी, माछापुच्छ्रे गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच सञ्चालित ११ ए साइड फुटबल प्रतियोगिताको उपाधि वडा नं. ५, रिभानस्थित निष्पक्ष माध्यमिक विद्यालयले जितेको छ। फाइनलमा वडा नं. ७, धम्पुसस्थित उदय माध्यमिक विद्यालयलाई ट्राइब्रेकरमा १–० गोलले पराजित गर्दै निष्पक्ष मावि च्याम्पियन बनेको हो।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। उपाधिसँगै निष्पक्ष माविले नगद रु. १८ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता उदय माविले नगद रु. १२ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ।
दौडमा बिना शाही र अनिल थापा प्रथम
वडा अध्यक्ष कपअन्तर्गत आयोजित महिला २०० मिटर दौड प्रतियोगितामा सिर्जनशील आमा समूहका तीनै जना सहभागीले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन्। २० जना प्रतिस्पर्धी सहभागी रहेको दौडमा डिना शाही प्रथम, कविता शाही द्वितीय र सिमरन शाही तृतीय भएका हुन्।
प्रथम भएकी बिना शाहीले नगद रु. २ हजार, द्वितीय भएकी कविता शाहीले रु. १ हजार र तृतीय भएकी सिमरन शाहीले रु. ५०० पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, पुरुष २०० मिटर दौडमा अनिल थापा प्रथम, सुनील शाही द्वितीय र सगुन अधिकारी तृतीय भएका छन्। उनीहरूले क्रमशः नगद रु. २ हजार, रु. १ हजार र रु. ५०० पुरस्कार प्राप्त गरेका छन्।
महिलालाई विभिन्न गतिविधिमा सहभागी हुन प्रोत्साहित गर्दै अवसर प्रदान गरेकोमा महिला दौडका विजेताहरूले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा पनि महिलाको सहभागिता बढाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न उनीहरूले आग्रह गरेका छन्।
भलिबलमा वडा नं. ९ च्याम्पियन
साविक वडा स्तरीय भलिबल प्रतियोगितामा वडा नं. ९ ले प्रथम स्थान हासिल गरेको छ भने वडा नं. ६ द्वितीय भएको छ। विजेता वडा नं. ९ ले नगद रु. ५ हजार र उपविजेता वडा नं. ६ ले नगद रु. ३ हजार पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै वडाहरूबीच खेलकुद प्रतिस्पर्धा र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।
गायनमा मनकामना र रस्साकस्सीमा हिमचुली विजयी
अन्तरमहिला समूह खुला गायन प्रतियोगितामा मनकामना आमा समूह प्रथम, प्रगति आमा समूह द्वितीय र मिलिजुली आमा समूह तृतीय भएका छन्। प्रतियोगितामा सान्त्वना स्थान हिमचुली आमा समूहले प्राप्त गरेको छ।
प्रथम भएको मनकामना आमा समूहले नगद रु. ६ हजार, द्वितीय भएको प्रगति आमा समूहले रु. ४ हजार र तृतीय भएको मिलिजुली आमा समूहले रु. २ हजार पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी, महिला रस्साकस्सी प्रतियोगितामा हिमचुली आमा समूह प्रथम र धौलागिरि आमा समूह द्वितीय भएका छन्। वडागत पुरुष रस्साकस्सी प्रतियोगितामा वडा नं. ६ प्रथम र वडा नं. ४ द्वितीय भएका छन्।
महिला तथा पुरुष रस्साकस्सी प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ३ हजार २५०० र द्वितीय हुने टोलीले रु. २ हजार ५०० पुरस्कार प्राप्त गरेका छन्। गायन तथा रस्साकस्सी प्रतियोगिताले स्थानीय महिला समूहको प्रतिभा प्रदर्शन गर्नुका साथै आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धिमा योगदान पुर्याएको छ।
सांस्कृतिक झाँकीले थप्यो रौनक
प्रतियोगिताका क्रममा माछापुच्छ्रे गाउँपालिका–४ भित्रका विभिन्न संघसंस्था, युवा क्लब, टोल विकास समिति तथा आमा समूहहरूले परम्परागत भेषभूषासहित सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। खेलकुद तथा सांस्कृतिक कार्यक्रमले स्थानीय प्रतिभा प्रदर्शन गर्नुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा समेत टेवा पुर्याएको छ।
खेलकुद विकास र सामाजिक सद्भावमा जोड
समापन समारोहलाई सम्बोधन गर्दै माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी, वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारी, वडा सदस्य अर्जुन अधिकारी, राजु नेपालीलगायतले प्रतियोगिताले स्थानीय युवा तथा विद्यार्थीहरूको खेल प्रतिभा उजागर गर्न र खेलकुदप्रति आकर्षण बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले यस्ता प्रतियोगिताले खेलाडीको क्षमता विकास गर्नुका साथै समाजमा आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। स्थानीयस्तरमा खेलकुदको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
माछापुच्छ्रे गाउँपालिका–४ को आयोजनामा सञ्चालित प्रतियोगिताको व्यवस्थापन माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले गरेको थियो। श्री महेन्द्र माध्यमिक विद्यालय, लाहाचोकको विशेष सहयोग, मर्दीसेती डटकमको मिडिया साझेदारी तथा माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्वमा प्रतियोगिता सम्पन्न भएको हो।
तीन दिनसम्म चलेको वडा अध्यक्ष कप–२०८३ ले समग्र गाउँपालिका साथै लाहाचोक क्षेत्रमा खेलकुद र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै स्थानीय समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउन योगदान पुर्याएको छ।

