पोखरा,कास्की । असोज ७ गते सम्पन्न नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाको अधिवेशन अन्तर्गत गाउँपालिका सभापति पदमा तीन जनाको उम्मेदवारी परेको थियो। गाउँपालिका सभापतिका लागि नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका समितिका सचिव केशवराज अधिकारी, वडा नं ८ का वडा सभापति राम गुरुङ र युवा नेता मौसम कार्कीले उम्मेदवारी दिएका थिए।
तीन जनाको उम्मेदवारी परेसंगै राजनीतिक नेतृत्व तथा पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा भएको लामो छलफलपछि सभापतिका उम्मेदवार राम गुरुङ र मौसम कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। उम्मेदवारी फिर्तासँगै केशवराज अधिकारी गाउँपालिका सभापति पदमा निर्विरोध निर्वाचित भए।
उम्मेदवारी फिर्ता गर्नुअघि युवा नेता मौसम कार्कीले आफ्ना शुभचिन्तक तथा नेपाली कांग्रेसप्रति आस्थावान कार्यकर्तामाझ पार्टीभित्र रहेको गुटगत राजनीतिबाट माथि उठ्दै नयाँ सोच, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए।
कार्कीले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभई पार्टीभित्रको गुटगत राजनीतिबाट माथि उठ्ने उद्देश्यसहित अघि सारेको बताएका थिए। उनका अनुसार माछापुच्छ्रे गाउँपालिकाको कांग्रेस संगठनलाई पालिकाभित्रकै नेता, कार्यकर्ता र शुभेच्छुकहरूको साझा भावना र आवश्यकता अनुसार अघि बढाउनु पर्ने बताए ।उनले गाउँपालिकाभित्रका कांग्रेसजन एकताबद्ध भएर आफ्नो संगठन र नेतृत्वका विषयमा आफैं निर्णय गर्नुपर्ने तथा गाउँपालिका बाहिरबाट हुने कुनै पनि प्रकारको राजनीतिक प्रभाव वा निर्देशनबाट परिचालित हुने अवस्था अन्त्य हुनुपर्ने धारणा समेत राखेका थिए।
‘हाम्रो पालिकाको संगठन निर्माण र नेतृत्वका विषयमा यहाँकै कांग्रेसजन एक भएर अघि बढ्नुपर्छ। बाहिरबाट प्रभावित वा परिचालित हुने होइन, पालिकाभित्रै सहमति, सहकार्य र एकताको वातावरण बनाउनुपर्छ’ भन्ने धारणा कार्कीले राखेका थिए।
गाउँपालिकाको संगठन र नेतृत्वका विषयमा पालिकाभित्रकै नेता तथा कार्यकर्ताबीच सहमति र सहकार्य हुनुपर्नेमा बाह्य प्रभाव वा स्वार्थबाट परिचालित हुने अवस्था आउनु हुँदैन। ‘हामीभित्र एकताको भावना अघि बढिरहेको बेला बाहिरबाट त्यसलाई खलबल्याउने प्रयास भए त्यसको प्रतिकार एकताबाटै गर्नुपर्छ’ भन्ने कार्कीको धारणा छ।छलफलका क्रममा पार्टीभित्र सहमति, एकता र सहकार्यको वातावरण बनाउन सकिने अवस्था बनेपछि आफूले उम्मेदवारी फिर्ता लिएको कार्कीले बताएका थिए । उनले उम्मेदवारी फिर्ता गर्नु आफ्नो राजनीतिक धारणा वा उद्देश्यबाट पछि हट्नु नभएको स्पष्ट पार्दै गुटगत राजनीतिविरुद्धको आफ्नो आवाज आगामी दिनमा पनि निरन्तर रहने बताएका थिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियामा पार्टीभित्र पुस्तान्तरण, नयाँ सोच र आन्तरिक लोकतन्त्रको बहस अघि बढिरहेका बेला केन्द्रबाट गुटगत राजनीतिबाट माथि उठेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने सन्देश उठिरहेको भन्दै युवा नेता मौसम कार्कीले स्थानीय तहमा पनि त्यसको व्यवहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन्। राष्ट्रिय तहमा उठिरहेको गुटगत राजनीतिबाट माथि उठ्ने सन्देश स्थानीय तहमा समेत प्रतिबिम्बित हुनुपर्नेमा कतिपय स्थानमा अझै गुटगत प्रभाव र समूहगत प्रतिस्पर्धा देखिनु दुःखद भएको उनको भनाइ छ।
कार्कीले पार्टीभित्र नयाँ सोच र नयाँ पुस्तालाई अवसर दिनुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाउँदै आएका छन्।उनले युवा पुस्तालाई अवसर दिँदै गर्दा पार्टीका अग्रज तथा अनुभवी नेताहरूको अनुभव, मार्गदर्शन र योगदानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने धारणा राखेका छन्। युवा पुस्ताको ऊर्जा र नयाँ सोच तथा अग्रजहरूको अनुभव र मार्गदर्शनबीचको साझेदारीबाट मात्रै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन सकिने कार्कीको भनाइ छ । उनका अनुसार नेपाली कांग्रेसलाई बलियो बनाउन व्यक्ति वा समूह केन्द्रित राजनीतिभन्दा संगठन, कार्यकर्ता र जनताको भावना केन्द्रमा राखेर अघि बढ्न आवश्यक छ।
माछापुच्छ्रे गाउँपालिकाको अधिवेशनमा भएको सहमति र उम्मेदवारी फिर्तालाई पार्टीभित्रको आन्तरिक एकता तथा सहमतिको प्रक्रियाका रूपमा लिनसमेत कार्कीले आग्रह गरेका छन्।

