‘चौथो माछापुच्छ्रे कप २०८३’ फुटबल प्रतियोगिताको उपाधि संगम युवा क्लबले हात पा¥यो ।

Headlines खेलकुद
हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब द्वारा आयोजित ‘चौथो माछापुच्छ्रे कप २०८३’ फुटबल प्रतियोगिताको उपाधि संगम युवा क्लबले जितेको छ।
फाइनल खेलमा संगम युवा क्लबले आयोजक माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो।
प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। घरेलु समर्थकको साथ पाएको आयोजक टोलीलाई पराजित गर्दै संगम युवा क्लबले उत्कृष्ट संयम र प्रदर्शनका साथ उपाधि आफ्नो कोल्टो मा पार्न सफल भयो।
उपाधिसँगै संगम युवा क्लबले नगद रु २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता बनेको आयोजक माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले नगद रु १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगितामा संगम युवा क्लबका जर्सी नम्बर १ का मन्दीप गुरुङ उत्कृष्ट गोलकिपर घोषित भए भने जर्सी नम्बर १० का विश्वास श्रेष्ठ सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्न सफल भए। त्यसैगरी आयोजक माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबका जर्सी नम्बर १० का मनोज गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। साथै हेमजा युनाइटेड ले अनुशासित टोलीको पुरस्कार प्राप्त गरेको छ।
यसअघि लगातार तीन संस्करणसम्म उपाधि आफ्नो कब्जामा राख्न सफल आयोजक टोली चौथो संस्करणमा भने उपाधि जोगाउन असफल रह्यो। यसपटक संगम युवा क्लबले आयोजकको वर्चस्व तोड्दै प्रतियोगिताको नयाँ विजेताको रूपमा आफ्नो नाम दर्ता गराउन सफल भएको छ।