हेमजाको धवलागिरी बोर्डिङ स्कूलले “शान्ति वचन”सहित नयाँ शैक्षिक सत्र २०८३ शुभारम्भ

Headlines शिक्षा

हेमाजा, १६ वैशाख । कास्कीको पोखरा महानगरपालिका–२५ हेमजामा स्थापित धवलागिरी बोर्डिङ स्कूल ले “शान्ति वचन” पाठ गर्दै शैक्षिक सत्र २०८३ औपचारिक रूपमा सुरु गरेको छ। नयाँ शैक्षिक सत्रको सुरुवातलाई अर्थपूर्ण बनाउने उद्देश्यका साथ विद्यालयले विशेष प्रार्थना कार्यक्रम आयोजना गरेको थियो, जहाँ विद्यार्थीहरूलाई शान्ति, अनुशासन र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–कर्मचारी तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। प्रार्थना सभामा विद्यार्थीहरूले सामूहिक रूपमा “शान्ति वचन” पाठ गर्नुका साथै नैतिक शिक्षा सम्बन्धी छोटो प्रस्तुतिहरू पनि दिएका थिए। विद्यालय प्रशासनले यस्ता गतिविधिले विद्यार्थीहरूमा आत्मअनुशासन, सहकार्य र सामाजिक जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

विद्यालयका प्राचार्यले शिव बहादुर रेग्मीले नयाँ शैक्षिक सत्र २०८३ लाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित शैक्षिक तथा सह–शैक्षिक गतिविधिहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो। उहाँका अनुसार, विद्यालयले आधुनिक शिक्षण विधि, प्रविधिमैत्री कक्षा, खेलकुद तथा सिर्जनात्मक गतिविधिहरूलाई सन्तुलित रूपमा अघि बढाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिनेछ।

त्यसैगरी, विद्यालयले नियमित प्रार्थना, जीवनोपयोगी शिक्षा, नेतृत्व विकास तथा अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार गर्ने लक्ष्य लिएको जनाएको छ। नयाँ सत्रसँगै भर्ना प्रक्रिया, कक्षा सञ्चालन तथा शैक्षिक क्यालेन्डरसमेत व्यवस्थित रूपमा कार्यान्वयनमा ल्याइएको विद्यालयले जानकारी दिएको छ।

विद्यालय प्रशासनले अभिभावक तथा सरोकारवालाहरूलाई पनि शैक्षिक गतिविधिमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै समन्वय र सहकार्यमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।