फागुन ७, हेमजा । ज्ञानसागर एकेडेमी पोखरा–२५,हेमजा कास्कीको ३२ औँ अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीको प्रमुख आतिथ्ययतामा पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाइएको हो ।
भण्डारीले हेमजा तरकारी र आलुको मात्र हब नभई शिक्षाको पनि हब भएको बताउँदै हेमजा भित्र सञ्चालनमा रहेको सामुदायिक एवं संस्थागत विद्यालयहरूको नतिजा विगतको तुलनामा सुधारोन्मुख रहेको बताए । सोही क्रममा हेमजामा रहेको गौरीशङ्कर क्याम्पस सञ्चालनमा देखिएको कठिनाइ स्मरण गर्दै सबैले आ–आफ्नो ठाउँबाट आवश्यक पहलकदमी मुभीका खेल्न आग्रह गरे ।
प्राचार्य शंकरमणी त्रिपाठीले सबैको साथबाट विद्यालय हालको अवस्थामा रहको जिकिर गर्दै उत्कृष्ट बाट सर्व उत्कृष्टको यात्रामा रहेका बताए । कक्षा १२ सम्म सञ्चालनमा रहेको विद्यालयलाई बालमैत्री देखि प्रविधियुक्त शिक्षाको अवलम्बन गर्दै विद्यार्थीको भविष्य निमार्ण मा निरन्तर लागि परेको बताए ।
कार्यक्रममा २५ न. वडा कार्यालय हेमजाका कार्यवाहक अध्यक्ष सुभाष भण्डारी,ज्ञानसागर एकेडेमीका संस्थापक प्रबन्ध निर्देशक भरतराज अधिकारी, हेमजा बोर्डिङ स्कुल हेमजाका प्राचार्य केशवशरण पौडेल,अभिभावक सङ्घका पूर्व अध्यक्ष एवं सल्लाहकार दिल्लीराम भण्डारी लगायतले शिक्षा क्षेत्रदेखि अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा बालबालिकालाई प्रोत्साहन मिल्ने वातावरण सहिताको शिक्षा आजको आवश्यकता रहेको बताए ।
कार्यक्रमका बिच दिर्धसेवा सम्मान गरिएको थियो । जसमा लेखा कर्मचारी ओमकुमारी आचार्य र शिक्षक हरि बहादुर कुँवरलाई सम्मान गरियो । उक्त कार्यक्रममा विभिन्न विद्यार्थी सम्मान साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार पनि वितरण गरिएको थियो ।
विद्यालयका अध्यक्ष टोलप्रसाद अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षकको तर्फबाट ज्ञानसागर एकेडेमीका संस्थापक प्रबन्ध निर्देशक भरतराज अधिकारी,विद्यार्थीहरूको तर्फबाट आर्या त्रिपाठी, सर्वोच्च पौडेल र आराध्या अधारीले स्वागत गरेका थिए भने विद्यालय शैक्षिक निर्देशक छन्दिका त्रिपाठीले कार्यक्रम सञ्चालन गरिन् ।


