सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ : मन्त्री थापा

समाचार होमपेज

पोखरा । एनएमबी बैकद्वारा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सोमवार मानवसेवा आश्रम पोखरा–२५,हेमजामा सौर्य ऊर्जा प्रणाली हस्तान्तरण गरेको छ ।

बैंकको तर्फबाट संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले मानव सेवा आश्रमलाई सोलार सामग्री हस्तान्तरण गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा रहेका हुन् ।

कार्यक्रममा लाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।

गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् । सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका जीवनहरूको आशालु केन्द्र भन्दै सरकार सधैं यस सेवामूलक यात्रामा साथमा रहने प्रतिबद्धता उनको छ ।

मन्त्री थापाले आर्थिक वर्ष २०८२÷८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल रु। १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको जानकारी गराए । जसमा पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार,गोरखा जिल्लाका लागि रु। १४ लाख ५० हजार र बागलुङका लागि रु। २१ लाख विनियोजन गरिएको छ ।

त्यस्तै, वर्तमानमा आश्रमलाई मासिकरूपमा दिइँदै आएको रु। ३ हजार सहयोग राशी न्यून रहेको महसुस गरिएको भन्दै मन्त्री थापाले यसमा आवश्यक समायोजन गरिने संकेत समेत दिएका छन् ।

“मानवसेवा आश्रम स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण हो। ऊर्जा हस्तान्तरणजस्तो सहयोगले यसको सेवा अझ प्रभावकारी र सशक्त हुने विश्वास लिएको छु। यस सेवामा ऊर्जा थप्नु भनेको समाजको मानवताको मुटुमा उज्यालो थप्नु हो।”, उनले भने ।

सामाजिक न्याय, समावेशी सेवा र दिगो ऊर्जा प्रवद्र्धनलाई मूलमन्त्र मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश सरकारले यस्ता सहकार्यलाई अझ सुदृढ बनाउने उनले उल्लेख गरे ।मानवसेवा आश्रम जस्ता संस्था सरकारका लागि साझेदार मात्र नभई समाज परिवर्तनका उत्प्रेरक भएको भनाई उनको छ ।

एनएमबी विशेष ।

कार्यक्रममा  सीईओ गोविन्द घिमिरेले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । यस सहयोगले आश्रममा बसोबास गरिरहेकाहरूको दैनिक जीवन सहज बनाउने विश्वास समेत उल्लेख गरे ।